विराटनगर । नेपाली कथानक चलचित्र पूणर्बहादुरको सारङ्गीले विराटनगरमा राम्रो बजार पाएको छ । विराटनगरमा रहेका क्युएफएक्स र सिटी सिनेमामा चलचित्र हेर्न दर्शकको अध्याधिक भीड रहेको छ । तीनपैनी चौकस्थित सिटी सिनेमाका सञ्चालक सुयेष प्याकुरेलका अनुसार पूणर्बहादुरको सारङगीले हालसम्म चलाइएको नेपाली चलचित्रमा सबैभन्दा राम्रो कारोबार गर्न सफल भएको छ।
विराटनगरमा नेपाली चलचित्र कम चल्ने भए पनि यसपटकको चलचित्रले राम्रो र दरिलो छाप छाडिरहेको उनले बताए । दर्शकको अत्याधिक माग र विगत सातादिन देखि हाउसफुल चलिरहेको चलचित्रका लागि सिटी सिनेमाले बुधबारबाट एक शो थप गर्ने निणर्य गरेको उनले बताए ।

उनले भने, ‘लामो समयपछि कुनै नेपाली चलचित्रले दर्शकमाझ यति राम्रो छाप छोेडेको छ । भारतीय सिंघम र भुलभुलैयासंगै पूणर्बहादुरको सारङ्गी हलमा लगाएका हौं। यसले विस्तारै लय पक्रेको छ । विगत केहीदिन देखि हलमा फिल्म हेर्न टिकट नपाएर फर्कनेको संख्या दैनिक ४ सयसम्म पुगेको छ । त्यहीलाई मध्यनजर गरि हामीले आजबाट शो थप्ने भएका हौ।’
एक साता अघिबाट हलमा फिल्म लागेको जनाएका प्याकुरेलका अनुसार भाइटीकाबाट दर्शकको माग बढ्दै गएको बताए । उनले भने, ‘कथा विषयबस्तुसंगै चाडपर्वका कारण विदा भएको हुँदा यसले दर्शकको राम्रो साथ पाएको हो । धेरैपछि नेपाली चलचित्र हलमा हाउसफुल गइरहेको छ।’