महोत्तरी । मिथिलाक्षेत्र यतिबेला भक्तिमय भएको छ । सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने लोकआस्थाको महापर्व छठ सुरु भएसँगै यस क्षेत्र अहिले भक्तिमय भएको हो । मिथिलाका जुनसुकै ठाउँमा पनि अहिले छठकै चर्चा र तयारी स्वरुप बस्तीबस्तीमा गुञ्जने सूर्यदेव र षष्ठीदेवीको महिमाका गीतले मिथिला अहिले गुञ्जायमान भएको हो ।

‘पहिलेपहिले बेर करैछी छठी मैयाके पुकार,

हे मैया , हम कुछ न जानी , हमरा करियौ उद्धार !!”

(मैले यसपालि पहिलो पटक छठ व्रतको सङ्कल्प गरेकी छु, म केही नजान्ने छु, हे छठी माता मेरो उद्धार गर्नुहोस् )

यो पर्व कार्तिक शुक्ल चौथी (चतुर्थी)देखि सप्तमीसम्म चार दिनसम्म फरकफरक विधिले मनाइन्छ । पर्वका प्रत्येक विधि र तयारीसँग जोडिएका गीत पनि छन्  । पर्वका लागि सामग्री तयार गर्दा, प्रसाद सामग्री  बनाउन जाँतो/ढिँकी चलाउँदा कुट्दाका र विधिवत पर्व सुरु भएपछिका प्रत्येक विधिभित्रका कृयाकलाप बर्तालु मिथिलानी मधुर गीतबीच नै पूरा गर्छन् ।

चार दिने छठ उत्सवको आज पहिलो दिन मङ्गलबार  बर्तालुले ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका छन् । ‘नहाय–खाय’ विधि आत्मिक र शारीरिक शुद्धिबाट सुरु गरिन्छ । यसका लागि बर्तालुले सबैभन्दा पहिले हातगोडाका नङ् काट्ने गर्छन् । यसैगरी धार्मिक महत्वको जलाशयमा पवित्र स्नान गरेर व्रत सङ्कल्प गर्छन् । यस दिनदेखि बर्तालुले चोखोनीतोको ख्याल राख्ने गर्छन् । अरवा (नउसिनिएको) चामलको भात र हरियो सागसब्जीमात्र खाएर बस्ने हुँदा मैथिल परम्परामा यस दिनलाई ‘अरबाअर्बाइन’ पनि भनिन्छ ।

पर्वको पहिलो दिन बर्तालु जलाशयमा नुहाउने बेलामा यससँग जोडिएको भक्तिगीत गुञ्जन्छ ।

‘भोरुकामें नदीया नहाइ, हे दिनानाथ,

पूmलपान चढाइ ना,

बाबा, तोहर सब गुन गाइना…!’

(आज बिहानै नदीमा नुहादीएको छु, हे सूर्यदेव , पूmलपान चढाएर तिम्रा गुन गाएका छौं)

पहिलो दिन पवित्र जलाशयमा बर्तालु नुहाइ रहँदा यो र यस्तै भावका गीत गुञ्जन्छन् । यी गीतका सम्पूर्ण भाव भक्ति, श्रद्धा र समर्पण भावका हुने मिथिला लोकपरम्पराका ज्ञाता मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा, साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

पर्वको दोस्रो दिन ‘खरना’ विधिसँग जोडिएका गीत छन् । उक्त दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिन बर्तालु दिनभर निराहार व्रत गर्छन् । राति अरवा चामल, सक्खर र गाईको दूधबाट बनेको खिर घरका इष्टदेवलाई चढाएर प्रसादस्वरुप खान्छन् । यो विधि मध्यरातपूर्व नै गरिसक्नुपर्छ ।

पर्वका सबैजसो गीतमा सूर्यको महिमा गाइएको हुन्छ । जसमा जगतलाई प्रकाश दिएर उज्यालो छरेको वर्णन गरिन्छ । यसैगरी षष्ठीदेवी, जसलाई मैथिल बोलिचालीमा ‘छठीमाता’ भनिन्छ, उनी अत्यन्त दयालु र दुःखीको पुकारा सुन्ने देवीका रुपमा महिमा गान हुने गरेको छ ।

यस्ता गीतमा षष्ठीदेवीलाई दीनदुखीप्रति करुणा गर्ने भाव व्यक्त हुने गरेका बर्दिबास–६ चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलिपकुमार तिवारीको भनाइ छ ।

पर्वको मुख्य दिन मानिने तेस्रो अर्थात् षष्ठी तिथिका दिन बर्तालुले दिनको प्रथम प्रहरमै स्नान गरेर निराहार व्रत प्रारम्भ गर्छन् । दिनभरि भगवान सूर्य र देवी षष्ठीको पुकारा गर्दै साँझ सूर्यास्त हुन एक घडी पहिले नै बस्तीको पवित्र जलाशयमा निर्मित घाटमा गई कम्मरसम्मको पानीमा चोबलिएर सूर्यदेव र षष्ठीदेवीको पुकारा गर्छन् ।

सूर्य पूरै नअस्ताउञ्जेलसम्म पानीमै खडा रहेर अर्घ्य दिन्छन् । हातमा अविर र चामलको पिठो नरविलसँगै उठाएर सूर्यलाई पहिलो अर्घ्य दिइन्छ । यसैगरी क्रमशः पर्वका लागि तयार गरिएका ठकुवा, भुसुवा (कसार) लगायतका मिष्टान्न परिकार र केरा एवं मौसमअनुसारका फल बर्तालुले हातमा लिई सूर्यलाई देखाउँछन् ।

‘अरघके बेर भेलै हो दिनानाथ ,

करियौ अरघ स्वीकार !

जलबीच करुणा मगैछी ,

हे छठी मैया, नारियल लठार !!

(अर्घ्य दिने बेला भयो हे सूर्यदेव, मेरो यो अर्घ्य स्वीकार गर्नुहोस् । पानीबीच उभिएर दया माग्दैछु, हे षष्ठीदेवी यो जटासहितको नरिवल समर्पित गर्दछु)

निराहार व्रतका दिन साँझ अस्ताउँदा सूर्यलाई अर्घ्य दिएपछि बर्तालु सपरिवार, सवन्धुवान्धव घाटमै रातभरि भक्तिगीत गाउँदै जाग्राम बस्छन् । यद्यपि अचेल परिवारका कोही एक जना घाटमा राखेर बर्तालु घर जाने चलन पनि छ । बर्तालु घाटमै होउन् कि घर जाउन्, तर जलाशयमा निर्मित मनोरम घाटमा रातभरि सूर्य उपासनाका भक्तिगीत गुञ्जी रहन्छन् ।

राति गुञ्जने यी गीतमा ‘भोलि बिहान चाँडै देखा पर’ भन्ने भाव पाइन्छन् । मिथिलामा निराहार व्रतमा रही अस्ताउँदा सूर्यलाई अर्घ्य दिने यस विधिलाई ‘सझिया घाट’ वा ‘सझुका अरख’ भनिन्छ ।

पर्वको अन्तिम दिन अर्थात् सप्तमीका दिन बिहान बर्तालु सूर्योदय हुन कमसेकम एक घडीपूर्व (साढे दुई घण्टा) पानीमा पस्छन् । कम्मरसम्म आफूलाई डुबाएर पूर्व फर्कदै सूर्यदेवलाई चाँडै उदाइदिन प्रार्थना गर्छन् ।

‘सोनासट कुनियाँ हो दिनानाथ,

घुमैछी सारा संसार !

आन दिन उगैछी यौ दिनानाथ ,

आहे भोर,भिन्सर,

आजुके दिन यौ , लागल कति बेर !

उगियौ न जल्दी दिनानाथ !!

(हे सूर्यदेव स्वर्णरुपी पात्र लिएर तपाईंको प्रार्थना गर्दैछु, तपाईँ संसार घुमी रहनुहुन्छ । अरु दिन तपाईं एकदम बिहानै ब्रह्म मुहूर्तमा उदाउनु हुन्थ्यो, आज चाहिँ किन यति धेरै बेर लगाउनुभयो ? हे सूर्यदेव चाँडै उदाइ दिनोस् ।)

प्रार्थनाबीच आफ्नो समयमा सूर्य पूर्व दिशामा देखिनासाथ बर्तालुले फेरि पहिलो दिनको झैं अर्घ्य दिन्छन् । सबै प्रसाद सामग्री सूर्यदेवलाई देखाउँछन् । योसँगै छठ पर्व विधिवत सम्पन्न गरिन्छ ।

मिथिलामा अन्तिम दिनको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ । पर्व सम्पन्न गरेर घर फर्केपछि बर्तालु र परिवारजनले प्रसाद खान्छन् । इष्टजनलाई खुवाउछन् । मिथिलामा छठको प्रसाद छोरीचेली, इष्टमित्र र आफन्तकहाँ एक महिनाभरि पुर्याइन्छ ।

पर्वका यिनै विधिसँग जोडिएका भक्तिगीत अहिले गुञ्जदा सिङ्गो मिथिला छठमय बनेको छ । सबै भेटघाट छठका लागि छन् । सबै काम छठप्रति समर्पित छन् । मिथिलामा यो पर्वको व्रत पुरुष/महिला दुवैले लिनसक्ने विधान भएपनि चलनमा भने अधिकांश घरमूली महिलाले लिने गरेका छन् ।

पर्वविशेषमा विभिन्न प्रयोजनले जनजन परिचालित हुन्छन् । लगभग सबै जाति समुदायले मनाउने यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्ग र लोकआस्थाको महापर्व रहेको पाका मैथिल बताउँछन् । यी गीतले सबैप्रति समभाव र करुणा राख्न सम्पूर्ण मानव जगतलाई सन्देश दिने गरेको पूर्वप्रशासक जलेश्वर–४ सुगाका बासिन्दा ८५ वर्षीय कृष्णचन्द्र झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु