विराटनगर । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आज(मंगलबार) देखि विधिवत् रुपमा सुरु भएको छ । छठको पहिलो दिन मंगलबार नहाय खाय मनाइँदैछ । यो दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख तथा समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना हो । बुधबार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् ।

तेस्रो दिन बिहीबार छठको मुख्य दिन सौझकारक रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने परम्परा छ । अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । यस दिनलाई पारन भन्ने गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ ।

छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ । नदि तथा जलायसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएपछि चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ ।

तराई मधेशमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ । छठ पर्वमा संघीय सरकारले बिहीबार देशभर सार्वजनिक विदा दिएको छ भने कोशी प्रदेश सरकारले शुक्रबार छठ समापनको दिन पनि सार्वजनिक विदा दिएको छ ।

पहिले तराई क्षेत्रमा मधेसी समुदायले मात्र मनाउने छठ पर्व तराईमा बसोबास गर्ने पहाडी समादाय मात्र नभएर काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु