काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन-असोज)मा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठ्यो । सरकारले चालु आवको पहिलो त्रैमासमा लिएको राजस्व संकलनको लक्ष्य ३ खर्ब ९ अर्ब ९२ करोड रुपैयाँ थियो । पहिलो तीन महिनामै लक्ष्यभन्दा ६१ अर्ब ६६ करोडले पछि परेको सरकार आम्दानीको दृष्टिले पहिलो पाइलामै लर्खराउनु परेको छ । यसले समग्र लक्ष्य पूरा गर्ने चुनौती थपिएको छ ।

यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ । पहिलो तीन महिनामा कुल लक्ष्यको साढे १७ प्रतिशत मात्र राजस्व उठेको छ । यस वर्ष पहिलो चौमासिकमा संकलन भएको राजस्व अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको तुलनामा १३ प्रतिशत धेरै हो ।

अर्थ मन्त्रालय यसै प्रगतिमा सन्तुष्ट देखिन्छ । मन्त्रालयका प्रवक्ता महेश भट्टराई भन्छन्, ‘चुनौतीका बाबजुद राजस्व संकलन बढेको छ ।’ यसवर्ष लक्ष्य अनुसार राजस्व उठ्न नसक्नुमा सरकारलाई सजिलो निहुँ परेको छ । मन्त्रालयका अधिकारीहरु यस वर्ष बाढी पहिरोका कारण आयात प्रभावित भएको र यसले राजस्व घटेको बताउँछन् । तर, यथार्थमा सरकारले लिएको राजस्व संकलनको लक्ष्य पूरा हुन नसकेको धेरै वर्ष भइसकेको छ ।

आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६८.२ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको सरकारले आव २०८०/८१ मा ७४.४ प्रतिशत मात्र राजस्व उठाएको छ ।

7
Shares
२० कार्तिक २०८१, मंगलवार १३:०६