काठमाडौँ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिने रकम बढेको छ भने सोही शीर्षकमा मुलुक भित्रिने रकम घटेको छ । वैदेशिक अध्ययनका लागि यस वर्षको दुई महिनामै करिब सवा २८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
यो गत वर्षको सोही अवधिमा विदेशी अध्ययनका लागि बाहिरिएको रकमभन्दा झन्डै ५ अर्ब रुपैयाँ बढी हो । गत आर्थिक वर्षको साउन र भदौमा विदेश अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको थियो । गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो । पहिलो महिनामा बाहिरिएको रकम गत आर्थिक वर्षको सोही अवधिको करिब ३९ प्रतिशतले बढेको थियो ।
पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरूको दाबी छ ।
नेपालमा अध्ययन गर्नकै लागि विदेशबाट विद्यार्थी आउने गरेका छन् । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि करिब ४४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ । यो रकम गत वर्षको सोही अवधिको भन्दा कम हो ।
गत आर्थिक वर्षको दुई महिनामा नेपालमा अध्ययनका लागि विदेशी विद्यार्थीले एक अर्ब २८ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । यसले नेपाल अध्ययनका लागि आउने विद्यार्थी संख्या घट्दै गएको पुष्टि हुन्छ । खासगरी चिकित्साशास्त्र, इन्जिनियरिङ, साहित्य, संस्कृतिलगायत विषय अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउन गरेका छन् । तर उनीहरूले यहाँ खर्च गरेको रकम नेपालका लागि आम्दानी हुन्छ ।
गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यो २४ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७९/८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ, आर्थिक वर्ष ०७५/७६ मा ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।