विराटनगर । छठ पर्वका लागि विराटनगरका खोला, पोखरी तथा नहर सरसफाइ र सजिसजाउको काम सुरु भएको छ। यतिबेला विराटनगरमा पर्ने सुनसरी मोरङ सिँचाइ योजनाको नहर, केशलिया खोला, सिंघिया खोला तथा पोखरीहरुमा सरसफाइ र स्वागतद्वारा निर्माण सुरु गरिएको हो। सरसफाइका लागि स्थानीय बासिन्दाले समेत समिति गठन गरी काम गरिरहेको छन्।

त्यसैगरी विराटनगर महानगरपालिकाले समेत ठाउँठाँउमा सरसफाइका लागि पानी पटाउने, घास र फोहर निकाल्ने, पूजास्थल सफा बनाउने काम गरिरहेको छ।

छठ पर्वको लागि विराटनगर–११ स्थित छठ पूजा समारोह समितिका अध्यक्ष मदन बरालले विगत झैँ यसपटकपनि श्रद्धालु भक्तजनका लागि सहज हुने गरी नहर सरसफाइमा विशेष ध्यान दिँदै आएको बताए।

छठमा उपवास लिनेदेखि पूजा गर्ने हरेकलाई सहज वातावरण बनाउनका लागि महानगरको टोलीसँग समन्वय गरिरहेको उनले बताए। मुख्यमा बजार पुरानो गुद्री तथा विभिन्न हाट बजारमा छठका सामाग्रीको खरिदका लागि श्रद्धालु भक्तजनको भीडभाड रहेको छ। छठ पर्वका लागि आवश्यक नाङ्लो, कुनिया, नरिवल, ढाकी, उखुलगायतका बाँसका सामाग्रीको खरिदबिक्रीसमेत राम्रो भएको छ।

विराटनगरमा प्रत्येक वर्ष धुमधामका साथ छठ पर्व मनाउने गरिन्छ। छठ पर्व अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइन्छ।
21
Shares
१९ कार्तिक २०८१, सोमबार १८:२९