विराटनगर । नेपालमा ताजा तथा प्लाष्टिकका फूलहरु आयातमा प्रतिबन्ध गरिएको भएपनि विराटनगर बजारमा प्रशस्त रुपमा बिक्रीका लागि राखिएको छ । अर्थात, विराटनगर बजारमा प्रतिबन्धित फूल छ्यापछ्याप्ती पाइन्छ । विदेशमा उत्पादित ताजा फूल र कृत्रिम प्लाष्टिकका फूलहरुमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै व्यापारीले अवैध बाटोको प्रयोग गरेर नेपाल ल्याउने गरेका छन् ।
ताजा फूल र कृत्रिम प्लाष्टिकका फूल अहिलेसम्म भित्रिएको तथ्यांक नभएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले जानकारी दिए । उनका अनुसार भन्सार कार्यालयबाट कागजका सामान्य फूलबाहेक अन्य कुनै पनि प्रकारका फूलहरु भित्रिएको छैन ।
‘सरकारले नै प्लाष्टिका फूलहरु आयातमा रोक लगाएको हुँदा भन्सारमा आउने कुरै भएन । बजारमा आएका फूलहरु कहाँबाट कसरी आए थाहा छैन । भन्सारकोे बाटो प्रयोग गरेर अहिलेसम्म ताजा र प्लाष्टिका फूलहरु भित्रिएका छैनन्,’ दाहालले भने ।
भारतबाट सयपत्री, मखमली र प्लाष्टिका फूलहरु भन्सारको बाटो प्रयोग नगरी व्यवसायीहरुले चोरीको बाटो हुँदै ल्याएर बिक्रीवितरण गर्ने गरेका छन् । विगतका वर्षमा भारतबाट फूलहरु विभिन्न बाटो प्रयोग गरी आयात हुँदा यहाँका फूलले बजार नपाएको गुनासो किसानहरुले गरेपछि सरकारले विदेशबाट ल्याउन कडाइ गरेको व्यवसायीहरु बताउँछन् ।