उदयपुर । ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाले उदयपुरगढी पदयात्रा गरेको छ । सेनाको पशुपति प्रसाद गणको आयोजनामा उदयपुरगढी गाउँपालिकाको नेपालटार बजारदेखि उदयपुरगढी दरबार सम्मको पदयात्रा गरेको हो ।

सेनाको १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी उपरीक्षक हरिहरनाथ योगी, शसस्त्र प्रहरी उपरीक्षक सरोज बस्नेत लगाएतको ६० जनाको टोलीले ऐतिहासिक उदयपुरगढी परिसरसम्म ८ किलोमिटर भन्दा बढी पैदल यात्रा गरेको थियो । पदयात्रामा रहेका टोलीलाई उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर मगर र उपाध्यक्ष जीतबहादुर खड्काले स्वागत गरेका थिए ।

उदयपुरगढीको इतिहास र सो क्षेत्रमा जाने पदमार्गको संरक्षण गरी आगामी पुस्तालाई समेत ऐतिहासिक क्षेत्रको महत्वको सन्दर्भमा जनचेतना दिन पदयात्रा गरिएको नेपाली सेनाका पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेले बताए ।

समुद्री सतहदेखि ११ सय ६० मिटरको उचाईमा पर्ने उदयपुरगढीमा विस १३८२ मा उदयचन्द्र नाम गरेका सेनवंशी राजाले शासन गरेको कुरा इतिहासमा पाइन्छ । उनै उदयचन्द्र सेनको नामबाट उदयपुर जिल्ला रहन गएको किंवदन्ती छ ।

14
Shares
१६ कार्तिक २०८१, शुक्रबार ०६:५३