जिल्लाका अधिकांश प्रशिक्षकहरु सरकारी काममा भन्दा निजी काम र पेशामा व्यस्त भएको कारण खेलाडी उत्पादन र नतिजामा सोचेजस्तो सुधार नभएको बस्नेतको गुनासो थियो । सरकारी तलब भत्ता खाने प्रशिक्षकले नभई स्वयमसेवक प्रशिक्षकले खेलाडी उत्पादन गरेको र नतिजा आएको उनको भनाइ थियो ।
‘खेलप्रति मोहभन्दा बाहिर अरु नै पेशा गर्न पाए हुन्थ्यो, अफिस पनि जान नपाए हुन्थ्यो भन्ने सोचले खेलकुद ग्रसित छ’, उनले प्रशिक्षकलाई इंगित गर्दै भने । १० औँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा सदस्य सचिव बस्नेतले ताप्लेजुङ, पाँचथर र इलाम हुँदै झापामा तयारीको बारेमा जानकारी र भौतिक संरचनाको निरीक्षण कार्यक्रममा रहेको बताए ।उनलाई झापामा केही खेल संघका अध्यक्षहरुले खेलका समस्यबारे गुनासो गरेका थिए । हक्की संघका अध्यक्ष मनोज बुढाथोकीले प्रदेशकै हक्की टिम झापामा रहे पनि खेल सामग्री र प्रशिक्षक नरहेको गुनासो गरे ।