स्पेनमा अप्रत्यासित रुपमा आएको भीषण बाढीमा परी ९५ जनाको मृत्यु भएको छ। स्पेनको पूर्वी प्रान्त भ्यालेन्सियामा भारी वर्षाका कारण बाढी आएको थियो। यो दसकौंपछिको सर्वाधिक ठूलो बाढी भएको दाबी गरिएको छ। अझै धेरै जना हराइरहेको बीबीसीले जनाएको छ।
मंगलबारको मुसलधारे वर्षाले आकस्मिक बाढी निम्त्याएको थियो। जसले पुल र भवनहरू बगाएको थियो भने मानिसहरूलाई बाँच्नका लागि रूख र छानामा चढ्न बाध्य भएका थिए।
प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। बाढी र खराब मौसमका कारण उद्धार प्रयासहरूमा अवरोध सिर्जना भएको जनाइएको छ। जसका कारण मृत्यु संख्यामा वृद्धि हुने आशंका गरिएको सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भ्यालेन्सियामा मात्र ९२ जनाको मृत्यु पुष्टि गरिएको छ, कास्टिल्या-ला-मान्चामा दुई र मालागामा एक ७१ वर्षीय बेलायती नागरिकको अस्पतालमा निधन भएको जनाइएको छ। यो स्पेनको सन् १९७३ यताको सबैभन्दा ठूलो बाढी विपत्ति हो, जहाँ दक्षिणपूर्वी क्षेत्रमा करिब १५० जनाको मृत्यु भएको थियो।
बुधबारको राष्ट्रिय सम्बोधनमा सान्चेजले नागरिकहरूलाई सतर्क रहन आग्रह गर्दै बाढी पीडितहरूलाई साथमा पूरा स्पेन रहेको बताएका थिए। उनले भने ‘पूरा स्पेन तपाईंहरुको साथमा रोएको छ, हामी तपाईंलाई छोड्ने छैनौं।’
भ्यालेन्सियाको नजिकैको सहर चिभामा रहेको राष्ट्रिय मौसम एजेन्सी एमेटका अनुसार मंगलबार आठ घण्टाभित्रै वर्षभरिमा भए बराबरको वर्षा भएको रिपोर्ट गरिएको थियो।
बुधबार बिहान स्पेनको सेना र आपतकालीन टोलीले बाल्कनी र कारका छतबाट मानिसहरूलाई उद्दार गरेका थिए। बाढीको रात भ्यालेन्सियाका बासिन्दाहरूले आफूले भोगेका घटनाहरू सम्झँदै सडक र राजमार्ग नदीजस्तै बगिरहेको बताएका छन्।
२१ वर्षीय गुइलेर्मो सेरानो पेरेजले आफ्नो परिवारसँग कार छोडेर पुलमा चढेर आफ्नो ज्यान जोगाउनुपरेको बताए। अर्को प्रत्यक्षदर्शीले जब पानीको भेल राजमार्गमा आएर मोटर चालकहरूलाई जोगिन मानव शृङ्खला बनाउँदै उठेको क्षेत्रमा गए।
ला तोरेका एक निवासीले बीबीसीलाई केही साथीले घर गुमाएको र गाडीहरू बगिरहेको देखेको बताएका छन्। हर्नो डे अल्सेडोका मेयरले पनि बाढीको भेलले केही मिनेटमै एक मिटरभन्दा बढी बढेको बताए।
तर स्पेनका केही स्थानमा आपतकालीन सेवा ढिला भएकाले मान्छेहरूलाई समयमै चेतावनी नपाएको आरोप लगाइएको छ। नागरिक सुरक्षा एजेन्सीले राति ८:१५ मा चेतावनी जारी गर्दा चिभा र अन्य सहरहरू दुई घण्टा अघिदेखि नै डुबानमा परिसकेका दाबी गरिएको छ।