विराटनगर । दीपावली गरेर धुमधामसाथ मनाइने हिन्दु धर्मावलम्बीहरुको महान एवं रमाइलो पर्व तिहार सुरु भएको छ । सबैतिर बत्तीले झिलिमिली बनाउने, पिङ खेल्ने, दीपावली गर्ने र देउसी भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खानेकुरा खाएर मनाइने भएकाले तिहारलाई रमाइलो पर्व मानिन्छ ।
तर, देउसी भैलोको नाममा अनेक विकृतिहरु देखापर्ने गरेका छन् । रमाइलो गरेर मनाउनेभन्दा पनि विकृतिजन्य हिसाबले पर्वलाई दूषित बनाउने अवाञ्छित गतिविधिसमेत हुने गरेको छ । चोरी, लुटपाट, डकैती गर्ने समूहले चाडपर्वको मौका छोपिरहेको पाइन्छ ।
देउसी भैलोको नाममा हुने विकृति र विसंगतिप्रति भने प्रहरीले सबैलाई सचेत गराएको छ । सम्भावित अपराध हुन नदिन ध्यान पुर्याउनुपर्ने जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले देउसी भैलोलाई मनोरञ्जनपूर्ण बनाउन सबैमा आह्वान गरेको हो ।
‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको छ । तिहारमा जुवा, तास, डाइसलगायत कानुनद्वारा बर्जित खेलहरु बढी खेल्छन् । जुवाजन्य खेल नियन्त्रणमा लिइरहेका छौं,’ कोशी प्रदेशका प्रहरी प्रमुख डीआईज चन्द्रकुवेर खापुङले भने ।
उनले सौहार्दपूर्ण हिसाबले चाडपर्व मनाउन सबैमा आह्वान गरेका छन् । ‘तिहारमा रमाइलो गर्ने हाम्रो संस्कार हो । देउसी भैलो खेल्ने गरिन्छ,’ उनी भन्छन्, ‘रमाइलो हिसाबले तिहार मनाउनुपर्छ । कुनै पनि अपराधिक गतिविधि हुन दिन हुँदैन ।’