काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय चुनाव हुन अब एक साता मात्र बाँकी छ । आगामी मंगलबार नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन दलका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार छन् । सुरुमा अघिल्लो चुनावकै उम्मेदवारद्वय ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुने देखिएको थियो ।

तर उमेरका कारण आगामी कार्यभार सम्हाल्न नसक्ने आलोचनापछि बाइडेन गत जुलाई २१ मा चुनावी मैदानबाट पछि हटे । उनको बहिर्गमनसँगै डेमोक्रेटिक पार्टीले ह्यारिसलाई आधिकारिक उम्मेदवार चयन गरेको हो ।

अमेरिकाकै पहिलो महिला राष्ट्रपतिको कीर्तिमान राख्ने दौडमा छिन् ह्यारिस । तर उनलाई रोक्दै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्न ट्रम्पले पाको उमेरमा पनि उत्तिकै कसरत गरेका छन् । चुनावी मैदानमा ह्यारिसको प्रवेशसँगै ७८ वर्षीय ट्रम्पले आफूभन्दा १८ वर्ष कान्छी ह्यारिसलाई पराजित गर्न लगभग असम्भव हुने देखिएको थियो ।

तर बिस्तारै ट्रम्पले राजनीतिक दौडमा सुधार ल्याएको देखिएको छ । निर्वाचन अभियान सुरु गरेको केही सातामा बाइडेनभन्दा ह्यारिसप्रति मतदाताको समर्थन बढेको थियो । अगस्ट अन्तिमसम्मको अवस्थामा उनले करिब चार प्रतिशतको अग्रता कायम राखेकी थिइन् । तर सेप्टेम्बर सुरु भएसँगै ट्रम्पको अवस्थामा केही सुधार देखिएको छ ।दुई उम्मेदवारबीच सेप्टेम्बर १० मा चुनावी बहस भएको थियो । टेलिभिजनमार्फत ७ करोडले प्रत्यक्ष हेरेको बहसमा ह्यारिस ट्रम्पमाथि हाबी देखिन्थिन् । तर उक्त बहसपछि पनि दुवै उम्मेदवारको अवस्थामा खासै ठूलो परिवर्तन देखिएको छैन । पछिल्ला चुनावी सर्वेक्षणले यस पटकको राष्ट्रपतीय चुनाव हालसम्मकै प्रतिस्पर्धात्मक हुने देखाएका छन् ।

पछिल्ला मत सर्वेक्षणका अनुसार ट्रम्पभन्दा ह्यारिस झिनो रूपमा अगाडि देखिएकी छन् । एबीसी न्युजले गरेको सर्वेक्षणमा ह्यारिसलाई ४८.१ प्रतिशतले मत दिने देखिएको छ । ट्रम्पले ४६.७ प्रतिशत मतदाताको समर्थन जुटाइसकेको मत सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु