काठमाडौं । आज धनतेरस मनाइदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षमा धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ ।
यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सवकाे रुपमा मनाउने पर्व हो । धनतेरसका दिन नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।
समाजका सबै वर्गका मानिस आफ्ना आवश्यकता र विलासिताका लागि महत्त्वपूर्ण किनमेलका लागि धनतेरसको प्रतीक्षा गर्छन् ।
धनतेरसमा किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी सुरु भयो भन्ने निश्चित प्रमाण छैन । तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो किमदन्ती छ ।
धनतेरसका दिन यमपञ्चक पनि प्रारम्भ हुन्छ । यस दिन साँझको समयमा यमराजको स्वागतार्थ एउटा दियो बाली घरको मूल दैलोबाहिर बाटोमा राख्ने चलन छ ।