काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन तत्काल नरोक्ने भएको छ । सहकारी ठगीमा पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलित छ ।
सहकारीपीडितले पनि रविलाई कारबाहीको माग जोडतोडका साथ उठाइरहेका छन् । पार्टीको शनिबार बसेको केन्द्रीय बैठकले आन्दोलनलाई थप सशक्त बनाउन उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा मूल समिति गठन गर्ने निर्णय गरेको छ ।
राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारीपीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राखिने बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टी सभापति रविको रिहाइको माग पनि गरेको छ । उनलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेर अनुसन्धानको नाममा मानसिक तनाव दिने गरिएको निष्कर्ष बैठकले निकालेको छ ।
उपसभापति अर्याल नेतृत्वको आन्दोलन सञ्चालन मूल समितिमा ७ प्रदेशका सभापतिहरू लगायत रहनेछन् । बैठकले राजनीतिक-नागरिक संवादको लागि पार्टीका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरेको छ ।
सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने र आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने निर्णय बैठकले गरेको जानकारी रास्वपाले दिएको छ ।