सुडानको राजधानी खार्तुमको दक्षिणी गाउँमा आक्रमण हुँदा कम्तीमा १ सय २४ जनाको मृत्यु भएको छ ।
अन्तर्रााष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुडानी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार आक्रमण गरेको हो । ठूलो हताहती भएको यो घटनालाई सुडानमा गृहयुद्ध चर्कने संकेतका रूपमा लिइएको छ ।
आरएसएफ गत वर्षको अप्रिलदेखि देशको नियन्त्रणका लागि सुडानी सशस्त्र बल (एसएएफ) सँग लडिरहेको छ। दुवै फौजलाई सर्वसाधारणको हत्या गरेको आरोप लगाइएको छ।
अलसरीहा गाउँमा आक्रमण हुँदा २ सयभन्दा बढी घाइते भएको र १ सय ५० जनालाई आरएसएफले हिरासतमा लिएको सीएनएनले जनाएको छ । हताहतीमा पर्नेको संख्या बढ्नसक्ने अनुमान छ । सञ्चार अवरोधका कारण यकिन विवरण आइसकेको छैन ।
आरएसएफ मिलिसियाले सबै स्टारलिङ्क उपकरणहरू जफत गरेको छ । आक्रमणपछि सर्वसाधारण आतंकित भएका थिए । त्यस क्षेत्रमा सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको छ ।
संयुक्त राष्ट्रसंघले एसएएफ र आरएसएफबीचको लडाइँले विश्वको सबैभन्दा खराब मानवीय संकट निम्त्याएको बताएको छ । लडाइँका कारण हालसम्म दशौँ हजारको मृत्यु भएको छ र लाखौँ विस्थापित भएका छन्।
सुडानको पश्चिमी डार्फर क्षेत्रमा अर्धसैनिक समूह र यसका सहयोगी मिलिसियाहरुले गत वर्ष पुरुष र महिलाहरूलाई दास बनाउने आरएसएफ नेतृत्वको अभियान र अन्य अत्याचारको पर्दाफास गरेको थियो ।