काठमाडौं । डेनमार्कका लागि अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक जना व्यक्तिसँग २० लाख रूपैयाँ घुस लिएको आरोप लागेपछि वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि छानबिन सुरु भएको छ ।
उनले घुस लिएको रसिदसहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्रका आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन सुरु गरेको हो ।
मन्त्रालयलका सहसचिव निश्चलराज पाण्डेका अनुसार उपसचिव शारदा राउतको नेतृत्वमा समिति बनाएर छानबिन सुरु गरिएको छ । छानबिनबाट मात्रै सबै कुरा प्रष्ट हुने पाण्डेले बताए ।
डा. उप्रेतीलाई भने बिहीबार नै मन्त्रालयमा तानिसकिएको छ । मन्त्रालयले बोर्डमा सहसचिव जीवलाल भुसाललाई पठाएको छ । डा. उप्रेतीले भने यस विषयमा जवाफ दिन आवश्यक नरहेको र समयले आफैं बोल्ने प्रतिक्रिया दिएका छन् ।