विराटनगर । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै आवश्यक नरहेको बताएका हुन् ।

‘दुईवटा प्रमुख दल मिलेर सरकार बनाउने कुराले सामान्य संसदीय पद्धती र परम्परालाई पनि पालना गरेको छैन र नेपालको सन्दर्भमा दुईवटा पार्टी मिलेर निरंकुशतातिर जाने संकेत भएको भनेर हामीले सुरुमै भनेका थियौं ।

अहिले त्यही दिशातिर सरकार गइरहेको छ,’ उनले भने, ‘अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ । हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौं । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन । बरु हाम्रो सरकारको पालामा भएका भ्रष्टाचारका दोषिलाई सफाइ दिने काम भइरहेको छ ।’

उनले बाढी पहिरो र डुबानमा परेकाहरुको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले कुनै काम नगरेको बताए । ‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठूलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनःस्थापना, पुननिर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि । त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’

उनले अहिलेको देशको परिस्थितिे दुईवटा पार्टीले मिलेर बनेको सरकारले अध्यादेश ल्याउने खालको नभएको बताए । यो कुरा काँग्रेस र एमालेले बुझ्नु पर्ने उनको भनाइ छ ।

28
Shares
९ कार्तिक २०८१, शुक्रबार १०:४६