बंगलादेशको खाडीबाट उठेको चक्रवाती आँधी ‘दाना’ ओडिशामा ‘ल्यान्डफल’ भएको छ। करीब राती १२:३० बजे ओडिशामा ठोकिएको हो। यो अझै केही समय रहने छ। हावाको रफ्तार घटेर अहिले प्रतिघण्टा १० किलोमिटरको रफ्तारमा रहेको छ।
आइएमडीका अनुसार ल्यान्डफल हुनुअघि आँधीको गति १५ किमी प्रतिघण्टा रहेको बताइएको छ। यो आँधी केन्द्रपाडा जिल्ला र भद्रक जिल्लाको धामरामा लगभग १ सय १० किलोमिटर प्रति घण्टाको गतिमा रहेको जनाइएको छ।
दानाको असरले ओडिशामा भारी वर्षा भइरहेको छ। करिब ६ लाख मानिसहरुलाई सुरक्षित स्थानमा शिफ्ट गरिएको जनाइएको छ। धेरै इलाकाहरुमा रुखहरु ढलेको र वर्षाले डुबान भएको जनाइएको छ।
तुफानको ठूलो असर भारतका ७ राज्यमा देखिने जनाइको छ। पश्चिम बंगालसरकारले १ लाख ५९ हजार मानिसहरुलाई प्रभावित क्षेत्रबाट बाहिर निकालेको छ। जसमा ८३ हजार ५ सय ३७ जनालाई रिलीफ क्याम्पमा पुर्याइएको जनाइएको छ।
कोलकाताको सुभाष चन्द्र बोस एयरपोर्ट बिहीबार राति ६ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म बन्द गरिएको छ। भुवनेश्वर र कोलकातामा ३ सय बढी फ्लाइट्सहरु रद्द गरिएको जनाइएको छ। त्यस्तै ५ सय ५२ ट्रेनहरु बन्द गरिएको जनाइएको छ।
नेपालमा भने यो आँधीको प्रभाव त्यति धेरै नपर्ने मौसम विदले जनाएका छन्। यद्यपि, कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना भने रहने जनाइएको छ। साथै बागमतीमा पनि मौसम बद्लीको सम्भावना रहने जनाइएको छ।