प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएकाले तत्कालै उनको सांसद पदलाई कुनै किसिमको समस्या देखिँदैन । तर, प्रहरीबाट अभियोग दर्तापछि अदालतले दिने फैसलामा उनको पद रहने वा नरहने भन्ने निर्भर हुनेछ । संगठित अपराधको मुद्दा चलेर त्यसमा उनी दोषी ठहर भएको खण्डमा उनको राजनीतिक भविष्य नै संकटमा पर्नेछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाएको व्यक्तिलाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको अवधिसम्म प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन अयोग्य भनेको छ । ऐनको दफा १३ मा प्रतिनिधिसभा उम्मेदवारको अयोग्यताका विषयहरू उल्लेख छन् । दफा १३ को (ङ) मा संगठित अपराधसम्बन्धी कसुरमा सजाय पाएका व्यक्तिलाई उम्मेदवार हुन अयोग्य भनिएको छ ।तत्कालको हकमा भने लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै कारणले भने उनको सांसद पद निलम्बनमा पर्ने छैन । प्रतिनिधिसभा नियमावलीले अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्रै थुनामा रहेको अवधिभर सांसदको पद निलम्बन हुने व्यवस्था गरेको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार अहिले संसद् नचलेकाले सांसद पक्राउ परेको सूचना सचिवालयको सूचना पाटीमा टाँस गर्न लगाएर सार्वजनिक गरिनेछ । लामिछाने पक्राउ परेको सूचना प्रहरीले संसद् सचिवालयलाई पठाइसकेको बताएको छ । तर, शुक्रबार रातिसम्म त्यो सूचना संसद् वा सभामुखको निजी सचिवालयमा प्राप्त भइनसकेको गिरीले जनाए ।