काठमाडौँ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत असोज १० देखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुवान प्रभावित स्थानीय तहलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारस्थित विपद् प्राधिकरणमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७ औँ बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको हो।

क्षतिको आधारमा अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी तीन भागका वर्गीकरण गरेर राहत रकमस्वरुप पालिकालाई ५० लाखदेखि १ करोड रुपैयाँसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए।

त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरुप प्रभावित पालिकालाई उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌मा सिफारिस गर्ने निर्णय गरिएको उनले बताए।

दीर्घकालका लागि पुनर्निर्माण र पुनर्स्थापना गर्न सम्पूर्ण क्षतिको विस्तृत क्षति आँकलन यथाशीघ्र गर्ने र सो प्रतिवेदनका आधारमा पुनर्निर्माण र पुनर्स्थापनाको कार्य अघि बढाउन सम्बन्धित क्षेत्रगत निकायले आवश्यक व्यवस्था मिलाउने र सो कार्यको लागि आवश्यक बजेट व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत भएको अधिकारीको भनाइ छ।

21
Shares
२ कार्तिक २०८१, शुक्रबार ०६:००