काठमाडौं । इन्डोनेसियाको जकार्तामा जारी छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका अभिषेक बरालले रजत पदक जितेका छन् । बिहीबार भएको खेलमा पुरुष ८० केजीमुनिको फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसँग पराजित हुँदै रजत पदक प्राप्त गरे ।
इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई पराजित गर्दै अभिषेकले फाइनल यात्रा तय गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए । उनका अनुसार २६ राष्ट्रको सहभागिता रहेको यो जि टु ¥याङकिङ प्रतियोगिता हो । प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी छन् ।
अभिषेकसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् । क्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिष घिसिङ पदकविहीन बने । पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी छन् ।
सरोज, अनिश र देवराज बाहेकको टोली ताइपेई सिटी कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने बताइएको छ ।प्रतियोगिता अक्टोबर २४ देखि २७ तारिखसम्म ताइपेईमा हुनेछ ।