काठमाडौँ — सरकारले नियमावली संसोधन गरेर कित्ताकाट सहज बनाउँदा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन । गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो । कित्ताकाट रोकिएपछि भदौ २४ मा मन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी भूउपयोग क्षेत्र वर्गिकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले कित्ताकाट खुलाएपछि पनि घरजग्गा कारोबारमा उत्साह नदेखिएको विभागको तथ्यांकले पुष्टि गर्छ । गत वर्षको असोज १–२० गतेसम्मको तुलनामा यस वर्षको असोजको सोही अवधिमा समग्र कित्ताकाट १३.५८ र कारोकार ८.५६ प्रतिशतले घटेको छ । विभागका अनुसार राजस्व ९७.३४ प्रतिशतले घटेको छ ।

गत वर्षको असोजमा २९ हजार २७८ वटा कित्ताकाटको लिखत पारित हुँदा यस वर्षको असोजमा २५ हजार १०७ वटा मात्रै भएको छ । यसरी हेर्दा कित्ताकाट लिखत पारित मात्रै १४.२४ प्रतिशतले घटेको विभागको तथ्यांक छ ।

कित्ताकाटसँगै कारोबार लिखत पारित घटेको छ । कारोबार लिखत पारित ७.८१ प्रतिशतले घटेको छ । गत वर्षको असोजमा २५ हजार ४२४ वटा कारोबार लिखत पारित हुँदा २३ हजार ४३६ वटा भएको छ । विभागका अनुसार गत वर्षको असोज (१ गतेदेखि २० गते) को तुलनामा यस वर्षको सोही अवधिमा राजस्व पनि ९७.३४ प्रतिशतले घटेको छ ।

गत वर्षको असोजमा २ अर्ब ५६ करोड २० लाख रूपैयाँ उठाउँदा यस वर्षको असोजमा ६ करोड ७९ लाख रूपैयाँ मात्रै राजस्व उठेको विभागको तथ्यांक छ । आर्थिक सुस्तता कारण घरजग्गा कारोबार बढ्न नसकेको नेपाल घरजग्गा व्यवसायी महासंघका अध्यक्ष भेषराज लोहनीले बताए ।

35
Shares
२९ आश्विन २०८१, मंगलवार १८:२७