विराटगगर । विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ ।
भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो ।
मंगलबार महानगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अध्यक्ष पोखरेललाई सपथ गराए । त्यसलगत्तै अन्य पदाधिकारी, कार्यसमिति सदस्य र परिषद सदस्यहरूलाई अध्यक्ष पोखरेलले सपथ गराएका थिए ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले विराटनगरले थुप्रै मूर्धन्य साहित्यकार र कलाकार जन्माएको बताए । उनले विश्वेश्वरप्रसाद कोइराला, महानन्द सापकोटा, देवकुमारी थापा, बालकृष्ण पोखरेल, कृष्णभूषण बल, चर्तुभूज आशावादी, माधव सापकोटालगायत दर्जनौं मूर्धन्य साहित्यकार जन्माएको बताउँदै विराटनगरको शाखलाई उच्च राख्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाए ।
पोखरेलको अध्यक्षतामा गठिन प्रज्ञा प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, सदस्यसचिवमा दिङ्लाली कान्छो (दिनेशराज सुवेदी), सदस्यहरूमा माया पौडेल (नृत्य–गीत–संगीत), अनुराधा थापा (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य–रंगमञ्च) र शिवनारायण पण्डित सिङ्गल (मातृभाषा) छन् ।
त्यस्तै प्रा.डा. हरिहर भण्डारी, लक्ष्मण नेवटिया, गोकुल अधिकारी, रामा मण्डल, हरि कट्टेल, भेषराज पोखरेल, रामबाबु दहाल, केशव रायमाझी, डा. विमला श्रेष्ठ, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल र इन्द्र परियार परिषद् सदस्य छन् ।