विराटनगर । कोशी प्रदेश सरकारको सत्ता साझेदार नेपाली कांग्रेसले अविरल वर्षापछि प्रदेशबासीमा पुगेको क्षतिसँगै राहत, पूर्नस्थापना र बेपत्ताको खोजीको माग गरेको छ ।

आइतबार बिहान विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कांग्रेस कोशी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक संरचनामा पुगेको क्षतिसँगै पूनर्निमाण, पीडितलाई राहत, खाद्यान्न उपलब्धता, घाइतेको निःशुल्क उपचारका लागि ध्यानाकर्षण गराएको छ ।

सो क्रममा कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले अविरल वर्षापछि प्रदेशका विभिन्न क्षेत्रमा पुगेको क्षतिबाट आहात भएका जनतालाईलाई सम्बोधनसहित उचित राहत उपलब्ध गराउन माग गरे ।

ध्यानाकर्षण गराउने क्रममा महामन्त्री थापाले प्रदेशवासीमा परेको पीडामा मल्हम लगाउने गरी सरकारले जनतालाई महसुस हुने वातावरण बनाउन माग गरे । नेपालीहरुको महान चाड दसैंको पूर्वसन्धामा भएको क्षतिबाट घरजान विमूख हुने अवस्थामा पुगेका जनतालाई समयमा गन्तब्य पुर्‍याउन अविलम्ब सरकारले कदम चाल्नु पर्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाइसकेपछि कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले घाइतेहरुको निःशुल्क उपचार गराउन माग गरिएको बताए । उनले विस्थापित भएकाहरुलाई सरकारले पूर्नस्थापनादेखि बेपत्ता परिवारको खोजीमा तगारुकता देखाउनुपर्नेमा जोड दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आइतबार अपरान्ह बस्ने मन्त्रीपरिषद्को बैठकले विपद्‍मा परेका पीडितको विषयमा छलफल गरी सरकारले न्यायोचित निर्णय गर्ने जनाएको विष्टले उल्लेख गरे ।

असोज ११ र १२ गते परेको अविरल वर्षापछि कोशी प्रदेशमा गएको विपदका क्रममा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, विपद्का कारण हालसम्म २ हजार ६४ जना विस्थापित भएको प्रदेशमा ७ जनाको अवस्था अज्ञात रहेको र ६ सय २१ घर परिवार विस्थापित भएकाछन् ।

विपद्का कारण प्रदेशको भौतिक पूर्वाधारतर्फ १ अर्ब ११ करोड २० लाख बढी क्षति भएको बताइएको छ ।

21
Shares
२० आश्विन २०८१, आईतवार १२:५७