विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि एसवीआई बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।
बैंकले बुधबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख रविन घिमिरे, प्रदेश उपप्रमुख अमित कोइराला र विराटनगर शाखा प्रमुख सुदीपकुमार अर्यालले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । हालसम्म २० लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
यसअघि ११ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १८ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।
यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ ।
बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहनुभएका पुनम दाहालले जानकारी दिए ।
५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।
महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।
प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ ।
परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ । हाल महेन्द्रचोकदेखि रोडशेषसम्मको डिभाइडरमा तारजाली लगाउने कार्य धमाधम भइरहेको छ ।