काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व छान्दै नछानी स्थगित गरेको छ । निर्वाचन समितिले बुधबार सूचना जारी गरी बाढी पहिरोले धनजनको क्षति भएको, दशैं सुरु हुन लागेको र दशैं अघि निर्वाचन सक्न कठिन हुने कारण देखाएर सम्मेलन स्थगित गरेको उल्लेख गरेको छ ।

पञ्चा सिंह नेतृत्वमा रहेको कमिटी विघटन गरेपछि नयाँ कमिटी ल्याउनका लागि वीरबहादुर थापाको संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो । अध्यक्षमण्डललाई बुधबार साँझ निर्वाचन आयोगले राष्ट्रिय सम्मेलन स्थगित गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन बुझाएको हो ।

उमेर हद लागु गर्ने/नगर्ने विवादमा सम्मेलन तीन दिनदेखि अड्किएको छ । स्थगित राष्ट्रिय सम्मेलन कहिले गर्ने बारे पार्टीसँग संवाद गरेर निर्णय गरिने अध्यक्षमण्डलका एक सदस्यले जानकारी गराए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार विद्यार्थी नेताहरुले भेटेपछि उमेर हदबारे मतदानबाट निर्णय लिने गरी प्रक्रिया अघि बढाउने तयारी थियो । उमेर हदको पक्ष र विपक्षमा मतदान गर्ने र उमेरका लागि २८, ३० र ३२ मध्ये एक रोज्ने गरी मतदान गराउन लागिएको थियो ।

उमेर हदको विपक्षमा एक समूह मुद्दा प्रवेश हुनासाथ देखियो । विघटित कमिटीका उपाध्यक्ष एवं अध्यक्षका आकांक्षी तुकमान महराको समूह सोमबार तोडफोडमा उत्रियो । उमेर हद लगाउनुपर्ने पक्षधरले उनीहरुको काउन्टर गरे । पार्टीबाट खटिएका उपमहासचिव शक्ति बस्नेत र अखिल क्रान्तिकारीका पूर्व अध्यक्षहरुले दुई समूहको विवादलाई मत्थर पारे ।

मतदान प्रक्रियामा जानुअघि विवादित सात जिल्लाको प्रतिनिधि टुंग्याउन लागियो । अखिल क्रान्तिकारीका नेताहरुका अनुसार विवादित जिल्लाको प्रतिनिधि टुंगो लगाएर मंगलबार १२ बजे अघि निर्वाचन समितिलाई प्रतिनिधिहरुको नाम बुझाइएको थियो ।

28
Shares
१७ आश्विन २०८१, बिहीबार ०९:४२