विराटनगर । तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ । विराटनगर–१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केशलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो ।

बाढी बस्ती प्रवेश गर्दा सो क्षेत्रका अधिकांश क्षेत्र डुबानमा परेको थियो । कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको सहयोगमा तटबन्ध निर्माण गरिने भएको हो । पूर्वमुख्यमन्त्री केदार कार्कीलाई साथमा लिएर कटानको निरीक्षण गर्न पुग्नुभएका कार्यबाहक मेयर मेयर विश्वनाथ भगतले तत्कालै तटबन्ध निर्माणको काम सुरु हुने बताए ।

सो क्षेत्रका प्रदेभसभा सदस्यसमेत रहनुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीलले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवालाई फोन गरेर घटनास्थलको निरीक्षण गर्न बोलाएका थिए ।

मन्त्रालयका महाशाखा प्रमुख र कृष्णप्रसाद राजवंशी, जल तथा सिंचाइ विकास डिभिजन मोरङका इन्जिजियर अनिलकुमार महतोलाई सँगै लिएर कटानस्थल पुग्नुभएका सचिव वान्तवाले लागत इस्टिमेट निकालेर तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

तत्कालका लागि कटान भएको करिब एक सय मिटरमा तारजाली लगाएर तटबन्ध निर्माण गर्नु आवश्यक देखिएको सचिव वान्तवाले बताए । पूर्वमुख्यमन्त्री कार्कीले केशलियाको बाढीबाट बस्ती जोगाउन केशलिया करिडोर निर्माण आवश्यक रहेको औंल्याए ।

उनले सम्पन्न बस्ती छेउबाट केशलियाको बाढी पस्दा सम्पन्न बस्तीमात्रै नभएर प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र आसपासको क्षेत्र डुबानमा परेको जानकारी दिए ।

‘केशलिया करिडोर निर्माण गरिए यस्तो समस्या कहिल्यै आउँदैन,’ कार्कीले भने, ‘केशलियाको बाढी समस्याको स्थायी समाधानका लागि एक मात्रै विकल्प करिडोर निर्माण नै हो ।’

निरीक्षणका क्रममा वडा नम्बर ६ का अध्यक्ष अक्षय सहनी, महानगर प्रहरीका निरीक्षक राजन पौडेल, मेयरका स्वकीय सचिव डिकप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।

कार्यबाहक मेयर भगतले मौसममा सुधार आएसँगै सो क्षेत्रमा बाढीको जोखिम पनि कम भएको बताउनुभयो । बखरी विद्यालयमा आश्रित बाढीपीडितलाई महानगरका तर्फबाट पुनःस्थापना नहुञ्जेलसम्मका लागि खानालगायतका अन्य आधारभूत आवश्यकता परिपूर्ति गरिरहेको उनले जानकारी दिए ।

35
Shares
१४ आश्विन २०८१, सोमबार ०८:०७