पाँचथर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सात प्रदेश र नामकरण वैज्ञानिक र व्यावहारिक नभएको बताएका छन्।

पाँचथरको फिदिममा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले प्रदेशको नामकरणमा असन्तुष्टि ब्यक्त गर्दै प्रदेशको नामकरण वैज्ञानिक र व्यावहारिक नभएको बताएका हुन्।

अध्यक्ष यादवले राजा महेन्द्रको आदर्शलाई नक्कल गरी नदीनालाको नामबाट प्रदेशको नामकरण गरिएको बताए। त्यसैगरी, पहिचानको मुद्दा स्थापित गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका अध्यक्ष यादवले संविधान संशोधनको नाममा सत्तासाझेदार दलले मुलुक खत्तम पार्ने प्रयास गरेको आरोप लगाए।

पत्रकार सम्मेलनमा एमाले र काँग्रेस मिलेर बहुदलीय ब्यवस्था अन्त्य गर्ने षडयन्त्र भइरहेको बताउँदै उनले मुलुक दुई दलिय अधिनायकवाद लाद्ने काम सुरु भएको बताएका थिए।

उनले भने, ‘दुई दलले गर्दा मुलुकमा अस्थिरता भएको छ। यो अस्थिरताको भारी साना दललाई बोकाएर संविधानको मर्म विपरीत जान खाजे आन्दोलन सुरु हुनेछ। सत्तामा रहेका एमाले र काँग्रेसको सत्ता संघर्षले मुलुकमा अस्थिरता कायम भएको हो। यी दुई दलले मिलेर बहुदलीय ब्यवस्था सक्ने षडयन्त्र भइरहेको छ।’

28
Shares
७ आश्विन २०८१, सोमबार १७:४३