विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताएका छन् । विराटनगरस्थित गोग्राहा माविको ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न महानगरले प्रधानाध्यापकहरुसित कार्यसम्पादन सम्झौता गरिसकेको जानकारी दिए ।
उनले सामुदायिक विद्यालयहरुबीच गुणस्तरका विषयमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । कोइरालाले भने, ‘जसरी संस्थागत विद्यालयहरुबीच राम्रो रिजल्ट ल्याउनका लागि प्रतिस्पर्धा हुन्छ, त्यसरी नै सामुदायिक विद्यालयहरुबीच पनि उत्कृष्ट नतिजा ल्याउन प्रतिस्पर्धा हुनुपर्छ ।’
पछिल्लो समय विराटनगरका सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार हुँदै गएको तर्क प्रस्तुत गर्दै मेयर कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि लान सके मात्रै समग्र शिक्षाको विकास हुने विचार व्यक्त गरे ।
‘संस्थागत विद्यालयहरु गुणस्तर र परीक्षाको रिजल्टमा निकै अगाडि हुने गरेका छन्,’ उनले भने, ‘सामुदायिक विद्यालयले त्यसअनुसार सुधार हुन सकेको छैन । राज्यले शैक्षिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ । तर पनि आशा गरेअनुसारको सुधार भएको देखिँदैन ।’