काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।
आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घटनाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु । कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ, यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ?’
पूर्वमन्त्री साहले अहिलेको संविधान स्वरूपमा खिचडी चरित्रको भएको दाबी गरे । उनले भने,‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होईन, विदेशीहरुको पक्षपोषण गरेको छ । यहाँ विदेशी ईन्ट्रेष्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन् । म कुनै आग्रह वा पूवाग्रहमा हिँड्ने मान्छे पनि होईन । यो संविधान र व्यवस्थाको लागि मैले ठूला ठूला लडाईं लडेको छु ।’