विराटनगर । भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको बताएका छन् । अधिक रसायन र विषादीको प्रयोगले खाद्य र मानवीय स्वास्थ्य समस्या सिजर्ना भएकोले अर्गानिकतर्फ फर्कनुको विकल्प नभएको उनीहरुको जोड छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा भइरहेको कृषि एक्स्पोमा कृषि अन्तरसंवादमा सहभागी भारतका कृषि वैज्ञानिकले नेपाल र भारतमा बढ्दो रसायनिक मलखाद तथा विषादीको प्रयोग चिन्ताको विषय भएको बताए ।
भारत पश्चिम बंगालका कृषि वैज्ञानिक डा. कंचन भौमिकले आफूहरु विगत १५ वर्षदेखि भारतमा अर्गानिक अभियानमा सक्रिय भएको र यो विभिन्न राज्यस्तरमा फैलाइएको सुनाए । उनले भने,“नेपालले पनि वार्षिक रुपमा दुई लाख ७० हजार टन युरियालगायत रासायनिक मलखाद खरिद गर्ने गरेको छ । सानो देशको लागि यो ठूलो परिमाण हो । अब नेपाल अर्गानिक रुपमा अघि बढ्नु पर्छ ।”
भौमिकले आफूले ६ वर्षअघि बाट पूर्वी नेपालको झापा र इलाम तथा मधेश प्रदेशमा अर्गानिक अभियानका लागि प्राविधिक सहयोग गर्दै आएको बताए । जैविक मलको उत्पादन तथा यसको प्रयोग सिकाउन किसानहरुसँग मिलेर काम गर्दै आएको मौमिकले बताए ।
भारतका उडिसाका कृषि वैज्ञानिक डा.बरिकले अहिले विश्वको चुनौती नै रैथाने बालीका बीऊ जोगाउने भएको बताउँदै नेपालले समेत आफ्ना मौलिक बीऊ जोगाएर त्यसको खेतीमा जोड दिनुपर्ने सुझाव दिए । भने,“एउटा बीऊबाट धेरै बिरुवा उमार्ने प्रविधि प्रापागेसनमार्फत रैथाने बीऊ बचाउन सकिन्छ । यसको उत्पादन बढाएर किसानले धेरै भन्दा धेरै मूल्य समेत पाउन सक्छन् ।”
उनले भारतले प्रविधि विकास गरेर यसक्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको दृष्टान्त पेश गरे । “विगतमा एउटा घरमा एउटा गाई वा भैंसी पाल्ने, दूध दुहुने र त्यसकै गोबर गहुँत खेतबारीमा लगाउने चलन थियो अब त्यो विस्तारै कम हुँदै जाँदा माटोको उर्वरा शक्तिमा पनि असर गरेको छ,”उनले भने ।
उडिसाका कृषि वैज्ञानिक सुभाषिशा बलले फाइभ जी कृषि प्रविधिमार्फत भारतमा विकास गरिएको धानको प्रजातिका विषयमा जानकारी गराए । प्रविधि प्रयोगसँगै रैथाने बीऊको प्रयोग गरी गरिएको उत्पादनबाट धेरै भन्दा धेरै आम्दानी लिन सकिन्छ ।
मानिसलाई चाहिने पौष्टिक पदार्थयुक्त धान उत्पादनमा अहिले भारत केन्द्रीत भएको भन्दै उनले भने,“विश्वभर सात लाख ५० हजार धानका प्रजाति छन् । भारतमात्र हामीले ८०० भन्दा धेरै प्रजातिमा काम गरिरहेका छौं ।” उनले खाना विषादीरहित र सुरक्षित हुनुपर्ने बताउँदै जैविक मलको प्रयोगलाई बढाउनु पर्ने सुझाव दिए । भने,“यान्त्रीकरण नराम्रो होइन तर हामीले विगतमा गर्ने परम्परागत तौरतरिका स्वास्थ्यका दृष्टिले पनि राम्रा थिए ।”