ह्यारिसबर्ग (पेन्सिलभानिया) । कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ । जोगले जुराएछ भने फेरि पनि भेटौँला । मिलेर बस्नुस् है । धन्यवाद !’
अमृतको यो ह्यारिसबर्ग सहरसँग मात्र बिदाइ थिएन, यसपाला झन्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार पनि थियो ।
प्रतिउत्तरमा पेन्सिलभानियाको राजधानी ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा भरिएका दर्शकले लामो ताली बजाए ।
ह्यारिसबर्गमा आयोजना भएका नेपाली कार्यक्रममा आजसम्मै आफूले यति ठूलो जमघट कहिल्यै नदेखेको बताउने स्थानीय आयोजक नीरज आलेमगर नेपथ्यको यो कन्सर्ट हरेक दृष्टिले यस भेगका नेपालीको लागि ऐतिहासिक बन्न पुगेको दाबी गर्छन् ।
‘केटाकेटीदेखि लिएर हजुरबा उमेरसम्मका मानिस आफ्नै धुनमा रमाएका देखिन्थे,’ नीरजले थपे, ‘यति धेरै संख्यामा दर्शक आकर्षित गर्न सफल नेपथ्यको कन्सर्टभरि सिंगो हल उचालिएको दृश्य अद्भुत र अविस्मरणीय रह्यो ।’
थोरै मानिसको बसोबास भएका नेपालीमाझ ध्यानमा नपर्ने यो सहरमा पनि नेपथ्यको कन्सर्ट भव्य हुनुले यो राज्यमा नेपाली समुदायको उपस्थिति बाक्लिँदै गएको इंगित गरेको थियो ।
पहिलो पटक यो सहरमा उपस्थित भएको नेपथ्यले झन्डै सय वर्षको इतिहास बोकेको ‘दी फोरम हल’मा आफूलाई उभ्याएको थियो । यो हल नियमित रूपमा प्रस्तुत भइरहने ‘ह्यारिसबर्ग सिम्फोनी अर्केस्ट्रा’को आयोजनास्थलका रूपमा पनि चिनिन्छ ।
नेपालीभाषीको बाहुल्य रहेको दर्शकको समूहमै थिए रोन्डा हेस् र एलन मास्टर्स । एप्पल कम्पनीमा ‘ग्लोबल अपरेसन म्यानेजर’को जागिर त्यागेर यो शान्त सहरमा सहज जीवन बिताइरहेकी रोन्डा पतिका साथ नेपथ्यको दर्शक बन्न आइपुगेकी थिइन् ।
‘भनेका कुरा त एउटै पनि बुझेनौँ । तर, मञ्चका कलाकारको अभिव्यक्तिभित्र के कस्ता भावना थिए भन्ने चाहिँ मज्जाले अनुभूत भइरहेको थियो । ती कुराप्रति दर्शकले जनाएको प्रतिक्रिया पनि उत्तिकै आनन्ददायी लाग्यो । हलभरि दर्शक ऊर्जाले भरिएका थिए, उनीहरूको देशप्रेम र गौरवबोधले हामीलाई पनि आत्मीयता अनुभूत गरायो ।’
रोन्डाका अनुसार उनीहरूको छेउमा बसेका नेपाली दर्शक यति मिजासिला थिए कि यी अमेरिकी दम्पतीलाई बुझाउनका निम्ति हरेक कुरा अनुवाद गरिदिन खोजिरहेका थिए ।
‘यो कन्सर्टमा आएर नेपाल र नेपालीप्रति विकास भएको सकारात्मक धारणाले नेपाल भ्रमण गर्न प्रेरित गरेको छ,’ उनले भनिन् ।
निर्धारित तालिका अनुसार शनिबार बेलुकी ठीक ६ बजे हलका ढोका खुलेका थिए । त्यसैगरी ठ्याक्कै ८ बजे कन्सर्ट सुरु भएको कार्यक्रममा स्थापनाकालीन ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म सबै गीतमा दर्शकले नाचेर, गाएर साथ दिएका थिए ।
दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो ।
‘नेपाली जहाँ गए पनि भाषाले हामीलाई आपसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है ।’
पुनर्बास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको यो राज्यमा नेपालीभाषी समुदायको एकताबद्ध जीवन्त उपस्थिति देख्नपाउँदा खुसी लागेको अमृतले उल्लेख गरे ।
शनिबारको कन्सर्टमा यस सहरभन्दा परैदेखि आएका दर्शक पनि उत्तिकै भेटिन्थे । तिनैमध्ये एक थिइन् आफ्ना पतिका साथ भर्जिनियादेखि आएकी समा अर्याल ।
‘डीसी वरपर हुने प्रायः नेपाली कार्यक्रममा हामी जाने गर्छौं । नेपथ्यको यसपालिको भव्य कन्सर्टले आजसम्मै हेरेका अन्य नेपाली कार्यक्रमलाई बिर्साइदिएको छ । त्यसैले मेरिल्यान्डको कार्यक्रमले धित नमरेर यहाँसम्म तानियौँ ।’
‘नेपथ्यको अनुभवलाई विश्वस्तरकै ब्यान्डसँग तुलना गर्न सकिने रहेछ,’ कन्सर्ट सकिएपछि समाको प्रतिक्रिया थियो, ‘ब्यान्डदेखि लिएर प्राविधिक र व्यवस्थापनसम्म सबै अन्तर्राष्ट्रियस्तरको लाग्यो ।’
ब्यान्डले ‘रातो र चन्द्रसुर्जे’ गीतमार्फत गौरवगाथा गाइरहँदा आफूजस्ता दर्शकले पनि नेपाली हुनुको गर्व महसुस गर्ने गरेको उनले जानकारी दिइन् ।
यसरी राष्ट्रिय गौरवदेखि सामाजिक चेतका सन्देशसहित नेपथ्यका सार्वकालिक हिट लोकरक गीतहरू कन्सर्टमा समेटिएको थियो ।
कार्यक्रमभरि पटक पटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्याए ।
पैदलै गाउँबस्ती पुगेर गीत संकलन गर्दाको अनुभव पनि उनले सुनाए । पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरले पनि उनका भनाइलाई सघाइरहेको देखिन्थ्यो ।