विराटनगर । विराटनगरमा जारी बिपी कोइराला स्मृति अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद तथा युवा विभाग नेपाली काँग्रेस मोरङले बिपी कोइरालाको १११ औँ जन्म जयन्तीका अवसरा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताअन्तर्गत क्याडेट गल्र्स सिंगलतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ प्रथम, नमुनाविद्या मन्दिरकी अनन्या धुत द्वितीय, अरनिकोकी स्वर्णिमा कोइराला र श्री श्री रविशंकरकी स्वस्तिका चौधरी तृतीय भए । ब्वाइजतर्फ बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ प्रथम, अरनिको स्कुलका आयुद्ध भण्डारी द्वितीय, अरनिकोका बिदर्भ गौतम र बुढानिलकण्ठकै प्रेमराज थापा तृतीय भए ।
त्यस्तै, सबजुनियर गल्र्स सिंगलतर्फ श्री श्री रविशंकरकी स्वाति साह प्रथम, सेन्ट मेरिजकी आस्था खड्का द्वितीय, एभरेष्ट स्कुलकी कृपा पोखरेल र सेन्ट जोसेफकी अनुखी साह तृतीय भइन् । ब्वाइज सिंगलतर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, एभरेष्टका सक्षम बस्नेत द्वितीय, श्री श्री रविशंकरका पीयूष यादव र बुढानिलकण्ठका रोशन रजक तृतीय भए ।
त्यसैगरी, जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिज स्कुलकी बिज्ञता थापा प्रथम, सेन्टमेरिजकै अपाला साह द्वितीय, सेन्टमेरिजकै मानसी सेठिया र एभरेष्टकी प्रनिता गिरी तृतीय भए । ब्वाइज सिंगलतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठ द्वितीय, नमुनाविद्या मन्दिरका डेभिड बोहरा र लिलिपुट स्कुलका पृथकराज राई तृतीय भए ।
महनगरपालिकाभित्रका १८ वटा विद्यालयका १ सय ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा–४ देखि १० सम्मकाहरुलाई विभिन्न समूहमा राखेर प्रतियोगिता आयोजना गरिएको खेलकुद तथा युवा विभाग संयोजक प्रकाश दाहालले जानकारी दिए ।
सो अवसरमा टेबलटेनिस खेलमा अनवरत रुपमा लाग्दै आएका अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँ र पूर्वअन्तर्राष्ट्रिय खेलाडी बिकेन थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता महेश आचार्य, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)लगायतले खेलाडीलाई पुरस्कारका साथै सम्मानपत्र प्रदान गरेका थिए ।