विराटनगर । प्राथमिक उपचार दिवसका अवसरमा रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्राथमिक उपचार कार्यशालाको मेयर नागेश कोइरालाले उद्घाटन गरे ।
विराटनगरका आदर्श, सरस्वती र महेन्द्र माविका विद्यार्थीलाई सहभागी गराएर आयोजना गरेको कार्यशालामा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव श्रेष्ठ, डा. रोशन खड्का, डा. राजन राई र स्वास्थ्यकर्मी गजेन्द्र यादवले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
उनीहरुले पानीमा डुब्दा, सर्पले टोक्दा, आगोले पोल्दा, दुर्घटनामा परी घाइते र हृदयघात हुँदालगायतका अवस्थामा तत्कालै कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा जानकारी गराए । प्रमुख वक्ता डा. श्रेष्ठले तत्कालै चिकित्सक उपलब्ध नहुने भएकाले अस्पताल पुग्नुअघि समयमै सही किसिमले प्राथमिक उपचार भयो भने बिरामीको ज्यान जोगिने बताए ।
कार्यशालामा तीनवटा सामुदायिक विद्यालयका साढे ३ सय विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । कार्यक्रममा सहभागी सबैलाई विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।