इटहरी । कोशी प्रदेशमा बुधबारबाट पहिलोपटक अस्थायी लाइसेन्स वितरण सुरु भएको छ । ट्रायल पास गरेलगत्तै लाइसेन्स वितरण हुन थालेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाई लाइसेन्स दिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै ‘स्मार्ट लाइसेन्स’ छाप्ने गरिको तयारी भइरहेको बताए ।
गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरुको संयुक्त बैठकले सवारी चालक अनुमति पत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्यूआर कोडसहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो ।
सोही अनुसार सबैभन्दा पहिला कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको हो । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू ७ वटा छन् । अब सबै कार्यालयबाटै अस्थायी लाइसेन्स पाउने व्वस्था सुरु गरिएको छ । समयावधि १ वर्षको हुनेछ । १ वर्षभित्रै स्थायी स्मार्ट लाइसेन्सको छपाईसमेत प्रदेशबाटै गर्ने तयारी भइरहेको अधिकारीले बताए ।