विराटनगर । विराटनगर–४ र ५ नम्बर वडाको सिमानास्थित जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहल र मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईको समन्वयमा मंगलबार स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले फागुनभित्र कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।

लामो समयदेखि सो सडक निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । स्थानीयले पटक–पटक महानगरपालिका र जिल्ला प्रशासनको सहयोग मागेका थिए । आवतजावतमा समस्या भएको भन्दै स्थानीयले बाँससमेत तेस्र्याएर विरोध जनाउँदै आएका थिए ।

महानगरको सभाहलमा भएको छलफलमा निर्माण व्यवसायी उप्रेतीले भदौ २६ गते बुधबारदेखि काम सुचारु गर्ने बताए। मेयर कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रजिअ भट्टराई, हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, निर्माण व्यवसायी वासु उप्रेती र स्थानीयवासीको उपस्थितिमा बुधबारदेखि नै निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ ।

त्यस्तै दसैंअगाडि सबै खाल्डाखुल्डी पुरिसक्ने र तोकिएको मिति अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताए । धुदुवा पैनीको प्राकृतिक निकासका लागि कल्भर्ट बनाउने पनि निर्णय भएको छ । विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर सो सडक आगामी असार मसान्तभित्र निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

२०७८ माघ २ गते ठेक्का सम्झौता भए पनि तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि दुईपटक म्याद थपिसकेको छ । सो सडक निर्माण सम्पन्न गर्न भ्याटसहित १७ करोडमा ठेक्का लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु