काठमाडौं । काठमाडौंमा कबड्डीको राष्ट्रिय निर्णायक तथा प्रारम्भिक प्रशिक्षक तालिम सुरु भएको छ । अखिल नेपाल कबड्डी संघद्वारा आयोजित तालिमको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरे ।

भदौ २७ गतेसम्म सञ्चालन हुने तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी छन् । दुवै तालिम लिनेको संख्या ७० रहेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

प्रो कबड्डीका निर्णायक अजित, प्रो कबड्डीकै प्रशिक्षक श्रीनिवासन रेड्डी, महासचिव झालगायतले सहभागीहरुलाई प्रशिक्षण दिने छन् । उनीहरुलाई सैद्धान्तिक तालिम टेकु तथा व्यवहारिक तालिम त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा दिइनेछ ।

सो अवसरमा बोल्दै सदस्यसचिव घिसिङले खेलाडीका रुपमा हासिल गर्न नसकेको उपलब्धि प्रशिक्षकका रुपमा पनि हासिल गर्न सकिने भएको हुँदा सहभागीलाई तालिमप्रति गम्भीर हुन सुझाउँदै कबड्डीको ट्रेनिङ सेन्टरका लागि आवश्यक पर्ने जग्गा र डिपिआर यसै वर्ष तयार गर्ने गरी तत्काल प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए ।

28
Shares
२२ भाद्र २०८१, शनिबार ०९:४१