वासस्थानलाई देवालय बनाउने
संसार चिनाउने, संघर्ष सिकाउने
सन्तानलाई छाहारी दिएर
घामको रापमा रापिन र
खुला आकाशमा उड्न सिकाउने
सृष्टिको सुरुदेखि अन्त्यसम्म
चेतनाको छाहारी, कर्मदाता
यस धराका सुनौलो निसान
भुवनका ऐश्वर्यमा एकमात्र
भगवान् सिङ्गो सृष्टि रच्ने
सुखको पवित्र बन्धन हुन् बुबा !
आस्था र विस्वास हौ सन्तानको
सुकार्य गर्न सकूँ आदर्शको
कलिलो आवाजको प्रार्थना
सुमधुर स्वरमा गाउन सकूँ सधैँ
तिर्न नसकेको ऋर्ण
दिन नसकेको आराम
सोह्र श्राद र तिथिमा
कसैलाई टन्न खुवाएर
हुन सक्दिनँ खुसी
तिर्न सक्दिनँ ऋर्ण
तिमीले कर्तव्यका रूपमा
उक्लेका पहाडहरूको
कसरी बयान गर्न सक्छु
दुई पाइला चाल्दैगर्दा
म थाकी सकेको छु
गोडा लुली सकेका छन्
खिइएका प्याटप्याटे चप्पललाई
तिनपैनीमा फ्याँक्दै गर्दा
भरे के लाउँथे बाले नसोच्ने म
च्वास्स गोडालाई घोच्दाखेरि
तर्तरी रगत बग्दाखेरि
सम्झन्छु तिमीलाई
तिम्रो बलिदानलाई
जीवन त सधैँभरि सन्तानकै निम्ति
बाँची रहेका रहेछौ
चप्पल त सन्तानकै लागि
खियाइरहेका रहेछौ
संसार वसन्तले पल्लवीत बनाए पनि
धर्तीको आँत
जलको मृगतृष्णाले छट्पटी रहेछ
चप्पल पट्पट् पट्किँदा पनि
तिम्रै याद आउँछ
चप्पल नपट्किँदा पनि
तिम्रै याद आउँछ बुबा !!