विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्ज गरिने बताएका छन् । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्जमा लानुको विकल्प नभएको बताए ।
वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको वडा क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालय रुपान्तरण अभियानलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी रहेको उल्लेख गरे ।
उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसित कार्य सम्पादन सम्झौता गरेको स्मरण गराए । गुणस्तर वृद्धिका लागि प्रअ र शिक्षकहरुको मुख्य भूमिका हुने उनको भनाइ थियो ।
मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि विद्यालय–विद्यालयबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष जितन थापाले वडाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले रुपान्तरण अभियान सुरु गरेको प्रस्ट पारे ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाको गुणस्तर बिना रोजगारीका अवसर प्राप्त हुन नसक्ने बताए । उनले दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय तहदेखि नै पढाइको गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिए । सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेलगायतले महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनु आवश्यक रहेको औंल्याए ।