विराटनगर । क्यान्सर बिरामीको उपचार सेवाका लागि विराटनगरस्थित कोशी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच सम्झौता भएको छ। बिहीबार विराटनगरस्थित कोशी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसे र कोशी अस्पतालका मेसु डा. रविनराज सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर विरामीका लागि सम्झौताले उपचार सेवालाई सहज बनाउने विश्वास ब्यक्त गरेका थिए। कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालले क्यान्सर विरामीको सहजीकरणका लागि सम्झौता भएको बताए।
महिनामा कम्तीमा एकपटक सेवा दिने सम्झौता अनुसार उपचार सेवाका लागि चिकित्सकसहितको प्राविधीक टोली कोशी अस्पताल आउँदाको खर्चभार भने कोशी अस्पतालले नै ब्यहोर्नुपर्नेछ। त्यसैगरि, सम्झौतामा विस्तारित सेवामा बहिरंग अन्तरंग एवं उपचारसमेत समेटेर सेवा गर्नुपर्ने उल्लेख छ।
कोशीमा २०७२ साल कात्तिकदेखि क्यान्सर उपचार सेवा सुरु भए पनि विशेषज्ञ क्यान्सर सेवाको उपचार सेवाको अभाव रहदै आएको थियो। यद्यपि, हाल दैनिक ओपीडी सेवा, इन्डोर सेवा, डे–केयर केमोथेरापीसहितको पाँच शैया सञ्चालनमा रहेकोछ। अस्पतालमा छातीको शल्यक्रिया, पेट तथा आन्द्राको शल्यक्रिया, मृगौला तथा पिसाब समस्याको शल्यक्रिया, छालाको क्यान्सर शल्यक्रिया सेवा सञ्चालनमा छन्।
सम्झौताका क्रममा मन्त्री पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, विराटनगर महानगरका मेयर नागेश कोइराला, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसे, कोशीका मेसु डा. रविनराज सिंहलगायत सहभागी थिए।