काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब करिब २ लाख ६८ हजार रुपैयाँ हुने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको छ।
अध्यक्ष पंकजबिक्रम नेम्बाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफल हुँदा महसचिवको तलब त्यति पुर्याउने प्रस्ताव राखेका हुन्।
केही सदस्यको असन्तुष्टिका बावजुद यो प्रस्ताव बहुमतले पारित भएको छ। हाल महासचिव किरण राईको मासिक तलब १ लाख २० हजार रुपैयाँ छ।
यसैगरी, बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ। यो निर्णय भने सर्वसम्मतले पारित भएको छ।
एन्फा प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे। यस्तै, बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ।
उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो। जसमा मात्र ५ जित दिलाएका थिए। ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो। एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ।