काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताएकी छन् ।
राष्ट्रिय शिक्षा दिवस–२०८१ मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो व्यवस्था कार्यान्वयनका लागि शिक्षासम्बन्धी ऐनरकानुनको प्रभावकारी कार्यान्वयन र समयानुकूल परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री भट्टराईले दिवसलाई आआफ्नो तहबाट सप्ताहव्यापी कार्यक्रम तय गरी मनाउन अनुरोध गरिन् । यसैगरी उहाँले प्रदेशस्तरमा शिक्षा दिवसका कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्न प्रदेश सरकार, मुख्यमन्त्रीको कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अनुरोध गरी पठाउने र प्रदेशका शिक्षा हेर्ने मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्राचार गर्ने बताइन् ।
दिवसलाई भव्य र सभ्य बनाउने उद्देश्यले सरोकार भएका मन्त्रालय, सङ्घ संस्था र अन्य सम्बन्धित निकायसँग आज छलफल गरिएको हो।बैठकमा राष्ट्रिय शिक्षा दिवस मनाउने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भएका कामकारबाही, दिवसका आदर्श वाक्य तय, विभिन्न उपसमिति गठन गर्ने सम्बन्धमा छलफल भएको थियो।