काठमाडौं । अभिनेत्री थिन्ले ल्हामोले फिल्म ‘शाम्बाला’को मुख्य भूमिकाको लागि स्विट्जरल्याण्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन् । युरोपभरका फिल्म समीक्षकले उत्कृष्ट अभिनय गर्ने कुनै एक कलाकारलाई उक्त अवार्ड प्रदान गर्छन् । कुनै दक्षिण एसियाली कलाकारले यो क्रिटिक अवार्ड जितेको पहिलोपटक हो ।

‘शाम्बाला फिल्मको मुुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्तित भएका छौं’ बोक्कालिनो डिओर अवार्डका अध्यक्ष र निर्देशकले प्रदान गरेको पत्रमा उल्लेख छ । ‘एक्लै उनले फिल्मलाई काँधमा बोकेको छिन्, यो आधारमा उनलाई महान अभिनेत्री मान्न सकिन्छ । यस्तो एउटा आदिवासी विश्व जहाँ पुरुषले आफूलाई प्रधान ठान्छन्, यसलाई चुनौति दिँदै थिन्ले ल्हामाले महाकाव्यमार्फत आफ्नो स्वतन्त्रता हासिल गर्न सक्षम भएकी छन्’ पत्रमा भनिएको छ ।

उनलाई ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा अवार्ड प्रदान गरिएको हो । फिल्म ‘शाम्बाला’ले जितका लागि अभिनेत्री ल्हामोलाई बधाइ दिएको छ । विज्ञप्ति जारी गर्दै निर्देशक भामसहित निर्माताको समूहले थिन्लेले यो अवार्ड जित्नु अभिनयको सम्मान मात्र नभएर नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्वपूूर्ण क्षण रहेको बताएका छन् ।

14
Shares
१ भाद्र २०८१, शनिबार ०५:५१