लमजुङ । सापटी मागेको रकम नदिएपछि बेंसीशहर नगरपालिका-११, चिती बजरखुट्टाका ४७ वर्षीय सुके भनेर चिनिने सुग्गरे सार्कीले एक वृद्धाको हत्या गरेको खुलेको छ । प्रहरीका अनुसार सुग्गरेले चितीकै तिवारीडाँडा बगैंचाकी ६२ वर्षीया वृद्धा सानुनानी घर्तीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङले बिहीबार कार्यालयमा पत्रकार भेटघाट गरी सानुनानीको हत्या अभियोगमा पक्राउ परेका सुग्गरेलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेका हनुसार सुग्गरेले सानुनानीसंग ५० हजार रुपैयाँ सापटी मागेको र नदिएपछि खुर्पा (हँसिया) प्रहार गरेको खुलेको छ ।
‘बाबाआमा बिरामी छन् भनेर सुग्गरेले सानुनानीसंग ५० हजार रुपैयाँ मागेछन् । सानुनानीले पैसा नभएको भनेपछि सुग्गरेले खुर्पा प्रहार गरेको देखियो’ उनले भने । उनका अनुसार सुग्गरेले घटनाका बेला मादक पदार्थ सेवन गरेको खुलेको छ ।
सानुनानीलाई हँसिया प्रहार गरी भागेका सुग्गरेलाई प्रहरीले सुन्दरबजार नगरपालिका-६, खत्रीठाँटीबाट बुधबार दिउँसो साँढे २ बजेतिर पक्राउ गरेको थियो । मंगलबार राति साँढे ८ बजेतिर वृद्धामाथि हँसिया प्रहार गरी आफ्नै घर गएर सुतेका उनी बिहान उठेर हिँडेको र हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी घलेले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले घटनाबारे बुधबार बिहान साँढे ८ बजेतिर जानकारी आएको र अनुसन्धान सुरु गरेको ६–७ घण्टाको अवधिमा अपराधीलाई पक्राउ गर्न सफल भएको उनले बताए । प्रहरीले पक्राउ गरेका सुग्गरेको घरबाट बुद्धामाथि प्रहार गरेको हँसिया बरामद गरेको थियो ।