विराटनगर । कोशी प्रदेशमा माओवादीका मन्त्रीले सामूहिक राजीनामा दिएको २० दिन बितिसक्दा पनि कांग्रेसको सत्तारोहण हुन सकेको छैन । कांग्रेसले कोशी सरकारमा मन्त्री पठाउन नसक्नुको मुख्य कारण हो– पार्टीभित्र गुट व्यवस्थापनमा देखिएको जटिलता । संस्थापन (शेरबहादुर देउवा), कृष्णप्रसाद सिटौला र शेखर कोइरालाको गरी कांग्रेसभित्र मुख्य तीन गुट सक्रिय छन् । तर कांग्रेसका लागि चार मन्त्रीको मात्र कोटा छ ।

कांग्रेसका एक नेताका अनुसार सिटौला र कोइराला गुटले पनि दुई/दुई मन्त्री दाबी गरिरहेका छन् । ‘सरकारमा मन्त्री सिट चारवटा मात्रै छ,’ ती नेताले भने, ‘मन्त्री बढाउनुपर्ने नेताहरूको माग छ ।’

कोशी सरकारमा मन्त्री पठाउने विषयमा छलफल प्रवेश नहुँदै केन्द्रीय कार्यसमिति बैठक बोलाएकाले नेताहरू त्यसैमा केन्द्रित हुन पुगे । ‘तर जतिसक्दो चाँडो सरकारमा सामेल हुन कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । हामी चाँडै सरकारमा जाने प्रयत्नमा छौँ,’ कांग्रेस कोशीकी सचेतक शोभा चेम्जोङले भनिन्, ‘ढिलोमा एक साताभित्र सरकारमा सामेल भइसक्छौँ ।’ १० दिनअघि कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले पनि साउन अन्त्यमा पार्टी सरकारमा सामेल हुने दाबी गरेका थिए ।

कोशीमा ४/४ मन्त्रालय बाँडफाँड गर्ने एमाले र कांग्रेसको सहमति छ । मुख्यमन्त्री भने आलोपालो हुने भनिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहयात्री दल कांग्रेसको गुटगत समस्या मिलाउनकै लागि मन्त्रालय थप्ने संकेत गरेका छन् ।

गत आइतवार सञ्चारकर्मीसँगको कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, ‘एक या दुई मन्त्रालय थप्न सकिन्छ ।’ अर्का एक सांसदले भने कांग्रेसले ६ मन्त्री र एमालेले थप एक मन्त्री लिने गरी तीन मन्त्रालय थपिने सम्भावना रहेको बताए । त्यसो गर्दा एमाले र कांग्रेसका ६/६ मन्त्री हुन्छन् ।  (कान्तिपुरबाट)

56
Shares
३१ श्रावण २०८१, बिहीबार ०९:१९