काठमाडौं । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कप प्लेअफ खेलमा भुटानको पारो एफसीसँग २-१ ले पराजित भएको छ । खेलअघि पानी परेपछि हिलाम्मे बनेको दशरथ रंगशालामा भएको खेलमा लकेन लिम्बुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो ।
तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन गर्दै जित निकालेको हो । जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ भने महादेशीय क्लब प्रतियोगितामा डेब्यु गरेको चर्च ब्वाइज बाहिरिएको छ ।
भुटानी क्लबले सिनियर स्तरमा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो । पहिलो हाफमा मैदानको अवस्थाका कारण खेलाडीहरुलाई खेल्न कठिन हुँदा पारोले गोल गर्ने दुई अवसर गुमाएको थियो । पहिलो हाफमा पारोको दुई प्रहार पोष्टमा लागेर फर्केको थियो ।
खेलको नवाैं मिनेटमा पारोका किङ्गा वाङ्चुकको क्रस चर्च ब्वाइजका खेलाडीले क्लियर गर्न नसक्दा विलियम ओपोकुले बक्स भित्रबाट हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो र पारोले अग्रता लिने अवसर गुमाएको थियो । यस्तै ३१ मिनेटमा केसुके होन्डाले करिब २५ यार्डबाट हानेको फ्रिकिक पनि पोष्टमा लागेर फर्कँदा पारो दोस्रो पटक अग्रता लिनबाट बञ्चित भएको थियो ।
खेलको ३८ मिनेटमा लकेन लिम्बुले गोल गर्दै घरेलु टोली चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लकेनले सिक्स यार्ड बक्सबाट गोल गरेका हुन् । तर उक्त अग्रता लामो समय टिकेन । पारोका लागि किङ्गा वाङ्चुकले ४० मिनेटमा बराबरी गोल फर्काए । चर्च ब्वाईजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गरका हुन् ।
दोस्रो हाफमा दुवै टोलीले खेलमा सुधार गर्दै आक्रमक खेल खेलेका थिए । दोस्रो हाफको सुरुवाती १५ मिनेट चर्च ब्वाईजले दबाब बनाएको थियो । ५६ मिनेटमा चर्च ब्वाईजका सनिश श्रेष्ठले बक्स बाहपरबाट हानेको भलिल प्रहार पारोका किपर मिलोस क्युपिकले मुश्किलले बचाए । ६६ मिनेटमा पारोका विलियम ओपोकुले गोल गर्दै पारोलाई २-१ को अग्रता दिलाए ।