काठमाडौँ । मनसुनजन्य विपद्बा‌ट पछिल्लो दुई महिनामा १ सय ७० जनाको मृत्यु, ४४ जना बेपत्ता भएका छन् । १ सय ९५ जना घाइते भएका छन् । २०८१ जेठ २८ देखि ६० दिनमा बाढी, पहिरो, डुबान, कटानलगायत मनसुनजन्य विपद्‌बाट उक्त जनधनको क्षति भएको हो ।

गृह मन्त्रालयका अनुसार विपद्‌जन्य प्रकोपबाट २ हजार ९ सय ९८ घर परिवार प्रभावित भएका छन् । गत वर्ष यो अवधिमा ७२ जनाको मृत्यु, २८ जना बेपत्ता र १ सय जना घाइते तथा ५ हजार ७ सय ८१ घर परिवार प्रभावित भएका थिए ।

मनसुनजन्य विपद्‌बाट सबैभन्दा गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा ३ जनाले ज्यान गुमाएका छन् । यो अवधिको सबैभन्दा ठूलो मानवीय क्षति असार २८ मा चितवनको भरत महानगरपालिका अन्तर्गतको सिमलतालबाट दुई वटा बस त्रिशूली नदीमा खस्दा ६२ जना यात्र बेपत्ता भएकामध्ये २४ जनाको मात्र शव भेटिएको छ । ३२ जना अझै बेपत्ता छन् ।

यो पटक मनसुनका क्रममा कञ्चनपुरको चाँदनी दोधारामा ७७ वर्षकै इतिहासमा सबैभन्दा बढी ६ सय २४ मिलिमिटर वर्षा भएको राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यो अवधिमा बाढीबाट ३६ जनाको मृत्यु ५ बेपत्ता, पहिरोबाट १ सय ९ जनाको मृत्यु, ३९ जना बेपत्ता, भारी वर्षाले १ जना र चट्याङबाट २४ जनाको मृत्यु भएका छन् ।

49
Shares
२९ श्रावण २०८१, मंगलवार २०:५५