झापा । भारत, पश्चिम बंगालको बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको मृत्यु भएको छ । साउनको अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी छन् ।
आज बिहान ५ बजे ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मुनि चिया बगान नजिकै दुर्घटना भएको हो । ठक्कर दिने गाडीमा बाबा धामबाट फर्किएका श्रद्धालुहरू सवार थिए ।
गाडी राजमार्ग किनारदेखि तल खस्दा त्यसका यात्रु पनि घाइते भएका छन् । घाइतेहरूको उत्तरबंग मेडिकल कलेजमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ ।