विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गतेसम्म कटहरी कृषि थोक बजारमा आयोजना गर्ने कृषि एक्स्पोको तयारी तीव्र पारिएको छ ।

कृषि एक्स्पोको प्रचार प्रसार गर्ने सिलसिलामा महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको टोलीले इलामको सूर्योदय नगर पालिकाको सभाहल र उद्योग वाणिज्य संघ विर्तामोडमा त्यस क्षेत्रका उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, कृषि व्यवसायी तथा कृषकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उक्त अवसरमा महासंघका अध्यक्ष राउतले विगतमा काठमाण्डौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गर्न गइरहेको र उक्त एक्स्पोलाई प्रदेश सरकार, कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको प्रवर्द्धन र नेपाल कृषि बजार विकास कार्यक्रम र कटहरी गाउपालिकाको सहकार्य रहेको बताए ।

यसै क्रममा सूर्योदय नगरपालिकामा भएको छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलो पटक कृषि एक्स्पोको आयोजना गर्न गइरहेकोमा सूर्योदय नगरपालिकाका प्रमुख रणवहादुर राईले खुशी व्यक्त गरे ।

कार्यक्रममा सहभागी ताप्लेजुंग उद्योग वाणिज्य संघ, पांचथर उद्योग वाणिज्य संघ, इलाम उद्योग वाणिज्य संघ, सूर्योदय नगर उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, अलैंची व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।

161
Shares
२७ श्रावण २०८१, आईतवार १६:५८