काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व छाड्नुपर्ने प्रस्ताव गरेका छन्। माओवादीको स्थायी समिति बैठकमा लिखित प्रस्ताव राख्दै सम्बोधन गर्दै शर्माले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन्।
‘हाम्रो पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्ष संचालन गर्ने सन्दर्भमा एकथरीले अन्धसमर्थन गर्ने र अर्को थरिले वर्गसंघर्षकै रुपमा बुझ्ने प्रवृत्ति हावी छ। यसलाई पार्टी निर्माण र नयाँ परिस्थिति अनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिबृद्धि गर्न जरुरी छ। त्यस अर्थमा पुरानालाई सम्मान नयाँलाई प्रोत्साहनको मान्यतामा रही विकल्पमा जानुपर्छ’ उनले भनेका छन्।
उनले बैठकमा तीनवटा प्रस्ताव अगाडि राखेका छन्। जसमा नेतृत्व हस्तान्तरणका लागि अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने माग गरेका छन्।
त्यसैगरी नेतृत्व पुस्तान्तरणका लागि अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने र हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्न दिनुपर्ने बताएका छन्।